Loading...

किरातले राईलाई बुझाउँछ, लिम्बूलाई होइन प्रा. बैरागी काइँला

4555

१ जेठ, काठमाडौं –  पृथ्वीनारायण शाहले यो मुलुकलाई एक बनाएर आफ्नो शासनमा ल्याएपछि लिम्बुजस्तो सानो संख्याका जातिहरुको धर्म, संस्कृति, परम्परा र रीतिरिवाजमाथि ठूलो संकट आयो । त्यो कुरा जब हामीलाई थाहा भयो र बोल्न थाल्यौं, सत्ता उनीहरुकै हातमा थियो, सत्तामाथि उनीहरुकै पहुँच थियो, नियम उनीहरु नै बनाउथे । पालना गराउने पनि उनीहरु नै । यसले गर्दाखेरि अझ लगाम कस्ने किसिमले राज्यसत्ताले धेरै थोक गर्न थाल्यो ।
हामीमा पनि आफ्नो अस्थित्व कसरी बचाउने, सर्भाइभ कसरी हुने, लिम्बुजातिको रक्षा कसरी हुन्छ ? हामी एक्लै कराएर हुन्छ ? एक्लै लडेर हुन्छ ? कि मिलेर लड्ने हो ? भन्नेजस्ता तर्कनाहरु २००७ साल पछाडि प्रष्टरुपमा हाम्रो सामाजिक र राजनीतिक धरातलमा देखिन थाले ।
त्योभन्दा अगाडिदेखि नै हाम्रो धर्म यस्तो हो भनेर आएकै थियौं । इमानसिं चेम्जोङले किरातमध्ये लिम्बुको युमा धर्मको कुरा ल्याए ।
दार्जीलिङतिर एकजना लक्ष्मण लावती, पश्चिम सिक्किमका लिलिहाङहरुले किताब लेखेर बाँडेर चौपट्ट गर्थे उहिले । यो सन् १९५० देखि १९६० वीचको कुरा हो ।
हाम्रो मुलुकमा हामीले पूजाआजा गर्दा आराध्य देवताहरुको पूजा र्गयौं र अहिलेसम्म जीवन जिउने प्रयत्नहरु गर्दै आएका छौं ।
धर्मलाई हाम्रा समाजशास्त्री र संस्कृतिविदहरुका कुराहरु हामीले पत्याउँदाखेरि मानव जीवनलाई कसरी व्यवस्थित किसिमले बाँच्न सक्ने बनाउने हो, त्यसका लागि निर्माण गरिने प्रणाली र पद्दतिहरु, आस्था र विश्वासहरु अनि ती आस्था र विश्वाससँग जोडिएका ईश्वरको एउटा परिकल्पना भने पनि हुन्छ , कल्पना भने पनि हुन्छ । र, त्यो ईश्वरलाई हामीले देख्न नसकेपछि हाम्रै रुपमा हामीले कल्पना गरेका हौं । अनि देवी देउवाहरु यी सबै हाम्रो धर्मका अंगहरु हुन् । सबै जातिमा यो किसिमको हुन्छ ।
धर्मको किसिम र युमा धर्म
आज हामीले बुझ्नुपर्ने कुरा के छ भने यो समाजमा अहिले बहस चलिराखेको छ कि धर्म भनेको के हो ?
धर्मको किसिम हुन्छ । कतिपय धर्मको कुनै पनि जाति र संस्कृतिसित सम्वन्ध हुँदैन । उदाहरणका लागि–क्रिश्चियानिटी । यो अंग्रेजको मात्रै धर्म होइन, यहाँ लिम्बु पनि बग्रेल्ती छ, राई पनि बग्रेल्ती छ । बाहुन पनि बग्रेल्ती छ । जुनसुकै जातित्वको मान्छेले पनि आफ्नो व्यक्तिगत आस्थाअनुसार धर्म परिवर्तन गरेर लाग्न सक्ने धर्महरु एकातिर छन् । के हामीले भनेको त्यो धर्म हो ?
आज लिम्बुको मौलिकता भनेर हामीले कराएको के हो भने, यो जुन धर्मका लागि हामी कराउँदैछौं, लिम्बुजातिले मात्रै मान्ने धर्म हो । एक प्रकारले लिम्बु रिलिजन हो । यो धर्मलाई अर्को किराती राईले मान्दैन । याख्खाले मान्दैन । न याम्फूले मान्छ । सुनुवार त धेरै पर छ सुनकोशीमा ।
त्यसैले हामीले मौलिकता जोगाऔं भनेको हो । आज ठूलो संकट आउँदैछ मौलिकतामा । मलाई लाग्छ युमा साम्योले यो मौलिकताको कुरा गरिराखेको हो ।
हाम्रो धर्ममा विविध किसिमले आक्रमण भयो । आक्रमण अरुबाट भएको छैन । हाम्रै गलत व्याख्याले भैराखेको छ । अघि यहाँ फाल्गुनन्द गुरुको कुरा आयो । जुनसुकै गुरुले पनि आफ्नो धार्मिक मत प्रचार गर्दाखेरि सामाजिक सुधारलाई हतियार बनाएका हुन्छन् । शिक्षाको प्रचारलाई हतियार बनाएका हुन्छन् ।
तपाई हामी यहीँ, हाम्रै जीवनमा देख्छौं नि, यहाँ नेपालसम्म व्यापकता पाएको साईबाबाको होस् सत्पाल महाराजका कुराहरु हुन् । ओशो रजनीशका कुरा हुन् । यिनीहरुले फाउण्डेसन, अस्पताल, हवाइजहाज चलाएर, सुविधाहरु दिएर आफ्नो पक्षमा धार्मिक समूहलाई चलाइराखेका छन् । उनीहरुले कुनै जातिपाति हेरेका छैनन् ।
तर, हामीले भनिराखेको युमा धर्म भोलि राईहरुले पालन गर्न सक्ने हो ? पक्कै पनि होइन । त्यसो भयो भने हामी आफ्नो मौलिकताको कुरा गर्ने, राईहरुले मौलिकताको अवलम्वन गर्ने, यो त हुँदैन ।
वि.सं १९८८ सालमा १७ थुमको भेला गरेर एउटा चुम्लुङ भयो । त्यहाँ जुन चिजहरु पास भए, मलाई लाग्छ, एकाधबाहेक सबै स्वागत गर्नुपर्ने चिजहरु छन् । नारी शिक्षाको कुरा, मातृभाषामा शिक्षाको कुरा होस् स्कुल चलाऔं भन्ने कुराहरु । बिहे बटुलोमा बढी खर्च नगरौं भन्ने कुराहरु । मारकाट नगरौं भन्ने कुराहरु नै भए ।
अघि यहीँ साथीहरुले बलीपूजाको बिरोध गरे । यी सबै कुराहरुमा ठीक–बेठीकमा म जादिनँ । आज हामीले बुझ्नुपर्ने के हो भने हामीले धर्मको कुरा उठाइरहेका छौं, कुनचाहिँ धर्मको कुरा उठाउँदैछौं ? युमा भनेपछि लिम्बुले मात्रै पालन गर्ने युमा धर्म हो । अनिमात्र हाम्रो मौलिकता बच्छ ।
म पनि किरातै भन्दै हिँडेको हुँ
हाम्रा धार्मिक कुराहरुलाई समय सन्दर्भले ठूलो प्रभाव पारेको हुन्छ । यहाँ २०१२ साल र ०४८ सालको जनगणनाका कुराहरु आए । लिम्बुहरुले किरात धर्म लेखाएको भनेर पनि बहस भयो । त्यसबेला किरातै लेखाउनुपर्छ भनेर हिँड्ने एकजना म पनि हुँ ।
तर, त्यसको पछाडि लिम्बुको मौलिकता स्वाहा बनाऔं भनेर त होइन । त्यसका पछाडि हाम्रो मुलुकमा अहिले पनि हामीले भोगिराखेको राजनीतिक हस्तक्षेप र थिचोमिचोको पृष्ठभूमि थियो । त्यसबेला हिन्दु जीवनशैली मेन स्ट्रिम हो, सबैले मान भन्ने थियो । यसरी जब हाम्रो जातीय अस्थित्व संकटमा र्पयो, एक्लै लड्न नसक्ने अवस्थामा पुगियो । त्यसले गर्दा हामीले मोर्चाबन्दी गर्नुर्पयो ।
आफ्नो अस्थित्व बचाउन एक्लै सकेनौं भने साना–साना मिलेर आफ्नो अस्थित्व रक्षा नगरिकन हुँदैन । त्यसैका लागि हामीले किरात लेख्यौं ।
तर, किरात याक्थुङ चुम्लुङले प्रष्ट पार्न नसकेको र आफ्नो पक्षलाई सबैका अगाडि राख्न नसकेको कुरा के हो भने लिम्बुले मानेको किरातभित्र युमा नै हो । राईले के लेख्छन्, उनीहरु जानुन् । सुनारले जे लेख्छन् लेखुन्, याख्खाले जे लेख्छन् लेखुन् । एउटा ‘कमन फयाक्टर’ मात्रै किरात थियो । त्यहाँभित्र लिम्बु थियो, खम्बु थियो, सुनुवार थियो, याख्खा थियो । यो कुरा थाक्थुङ चुम्लुङले प्रष्ट पार्न सकेन । या, सुरुका साथीहरु विदा भएर अरु साथीहरु आउँदा विचारको निरन्तरता हुन सकेन ।
अर्को कुरा, चुम्लुङले क्लियर गर्न नसकेको कुरा एउटा छ, सत्यहाङमापन्थीहरुले किरात धर्म हो भने । चुम्लुङमा सबैले मान्ने धर्म किरात हो, यसलाई लिम्बुले आफ्नो परिपाटी र शैलीले मान्छ, राईले त्यही हिसाबले मान्छ, याख्या र सुनुवारले आफ्नै हिसाबले मान्छन् भन्ने अन्डस्ट्याण्डिङ छ । यसमा चुम्लुङ प्रष्ट हुन सकेको छैनजस्तो लाग्छ ।
हामी त्यतिबेला सबै हिँड्यौं नि किरात धर्म लेखाउनलाई । हामीलाई क्रिश्चियनले सघायो, मुस्लिमले सघायो । हामीले उनीहरुको नाम पनि अनुसूचिमा राखिनुपर्छ भनेर सघायौं । तर, यसपछिका दिनमा सम्पूर्ण किरात धर्मलाई एकलौटी हामीले अघि बढाएको भनेर सत्यहाङमा पन्थको नयाँ नामका रुपमा लिन खोजिँदैछ ।
किरातले राईलाई बुझाउँछ, लिम्बुलाई होइन
सत्यहाङमापन्थीहरुले के भन्न थाले भने केही पनि नलेख्ने, हामी किरातीमात्रै हौं । यहाँ ठूलो संकटको कुरा मैले अघि भनें, हाम्रो मुलुकको जो वौद्धिक र प्राज्ञिक परम्परा छ, त्यसले किरात भनेको लिम्बु बुझ्दैन । यहाँ आउँछ, अस्थित्वको संकट ।
जुन शब्दले हामीलाई बुझाउँदैन, त्यसलाई समाती बस्ने ? हामीलाई युमा धर्मावलम्बीहरुले प्रष्ट भनिसकेका छन् ।
हामीले उहिलेदेखि अहिलेसम्म, एकछिनलाई मानौं न त्यो गोपाल वंशावलीमा लेखिएको कुरा गरौं, सबैको दृष्टिमा किरात भनेको राई हो । अनि लिम्बु बुझ्दैन भने कहिलेसम्म यो शब्दलाई टाउकोमा बोक्ने ?
०४८ सालको जनगणनामा दुईवटा कुरा ध्यानमा राखिएको हो । एउटा– एक्लै लड्न सकिँदैन । अर्को कुरा लिम्बुजातिको इतिहास कहिलेदेखिको हो । या, याक्थुङबाको इतिहास कहिलेदेखिको हो ? यसको प्राचीन कालसम्म इतिहासको सम्बन्ध छ कि छैन ? नेपालमा राज्य गर्ने किरातसँग लिम्बुहरुको सम्बन्ध थियो कि थिएन ? छ भने देखाउनुर्पयो नि । इतिहास दाबी नगर्ने, अर्कालाई सर्लक्क दिने, हात उठाइदिने । अनि हैन, भोलि त लिम्बुवान आइहाल्छ नि भनेर थपक्क बस्ने ?
सारा देशले किरात भनेको त्यही (राई) हो भनेर बुझ्छ । यसले हाम्रो अस्थित्वमा आएको संकट विकराल हुन सक्छ । वास्तवमा लिम्बुहरुको मौलिकता बचाउनका लागि हामीले प्रयत्न गर्नैपर्छ । भाषा, साहित्य र संस्कृतिका विविधरुपहरुमध्ये एउटा धर्म पनि हो । धर्ममा अचाहिँदो कुरा थप भएको रहेछ भने त्यो थाहा पाइन्छ । त्यस्ता चिजहरु पन्छाउनुपर्छ ।
सत्यहाङमा पनि धर्म परिवर्तन हो
वास्तवमा सत्यहाङमा पन्थले जुन प्राक्टिस गरे, हाम्रो मौलिकतामा .. उनीहरुको पूजा गर्ने तरिका, होम गर्ने तरिका वा मराउपराउ हुँदाखेरि जलाउने तरिकाहरु लिम्बुको परम्परागत संस्कृतिभन्दा बेग्लै भएकाले हामी लिम्बुले पालन गरिरहेको संस्कतिमा अपसंस्कृतिको विकास भयो ।
आस्था परिवर्तन भनेको धर्म परिवर्तन हो । सत्यहाङमा भनेको धर्म परिवर्तन नै हो । त्यो हुन सक्छ ? कान फुकेर मात्रै लिम्बु हुने हामी ? हामीले त जन्मजात पाएको हो ।
तर, सत्यहाङमाको यो–यो राम्रो, यो नराम्रो भन्नेमात्रै होइन कि त्योसँग के मतलव, हाम्रो यही हो ठीक छ भन्दै जाँदाखेरि हामीलाई घाटा हुन्छ । हाम्रो समाजमा मान्य भइसकेका स्थापित व्यक्तित्वलाई भत्काइदिँदा नोक्सान त लिम्बु जातिलाई हुन्छ । अर्को त्यत्तिकै सशक्त व्यक्तित्व बन्न धेरै समय लाग्छ । सत्यहाङमाले गर्दाखेरि लिम्बुको मौलिकतामा ठूलो असर आयो, उनीहरुको किरात धर्म अरे । त्यो किरात धर्ममा कान फुक्नै पर्ने, जबकि लिम्बुको मौलिक युमा धर्ममा कान फुक्नैपर्दैन । तर, तपाईहरुले भोलि योचाहिँ झण्डा बोक् भन्न थाल्नुभयो भने त्यो गलत हुन्छ ।
लिम्बुले परम्परादेखि पालना गर्दै आएको धर्म युमा धर्म नै हो । हाम्रो धर्म यहीँबाट विकसित भएको हो । खाली समस्या के हो भने व्याख्याको । एउटाले पायो भने एक तरिकाले व्याख्या गर्छ, अर्कोले पायो भने अर्कै भन्दिन्छ । यसलाई छलफलले मात्रै राम्रोसँग टुंगोमा र्पुयाउँछ ।
फाल्गुनन्द गुरुले त्यतिबेलाको सन्दर्भमा शिक्षा दिनुभो, हामीले सामाजिक सुधारकका रुपमा मान्यौं उहाँलाई । उहाँले युमाको शक्तिलाई लिम्बुको प्रमुख विचार हो भन्ने कुरा भेष धारण गरेर पनि देखाउनुभयो । उहाँले धारण गरेको जुन स्त्री भेष छ, युमाको सत्यलाई प्राथमिकता दिएको अर्थमा बुझ्दा के बिग्रिन्छ ?
हिन्दुधर्ममा विष्णुको शक्तिलाई प्रधानता दिनेलाई वैश्णव भन्छन् । शिवको शक्तिलाई प्रधानता दिनेलाई शैव भन्छन् । कृष्णको शक्तिलाई प्राथमिकता दिनेलाई परणामी निकाले भने हामीले हाम्रो धर्मको नाम युमा धर्म निकाल्दा के बिग्रन्छ ?
एउटै कुरा के हो भने हामीले हाम्रो धर्म पालन गर्दा वा आफ्नो मत व्यक्त गर्दा अर्कोलाई क्षति नर्पुयाउँ । क्रिश्चियन प्रोटेस्टेन्ट र क्याथोलिकको द्वन्द्व चल्यो । मुश्लिमहरुमा सिया र सुन्नीवीच द्वन्द्व चलेको छ । त्यो किसिमको कट्टरता नगरिकन हामी अगाडि बढ्नुपर्छ । युमाको शक्ति भनेकै सृष्टिको क्रमलाई भंग हुन नदिइकन मानव जीवनलाई सहज तरिकाले बचाउनुपर्छ । यसमा कुनै पनि भ्रम लिम्बुहरुमा छैन ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *