Loading...

भारतीय पाइलट अभिनन्दनका छोरालाई पाकिस्तानी सेनाको मन छुने पत्र

292

फागुन १७ काठमाडौं। पाकिस्तानी सेनाले आफूले पक्राउ गरेका भारतीय वायुसेनाका पाइलट अभिनन्दन बर्तमानलाई आज रिहा गर्दैछ । हिजो पाकिस्तानी संसदको बैठकमा प्रधानमन्त्री इमरान खानले अभिनन्दनलाई आज भारतलाई सुम्पिने घोषणा गरेका हुन् । प्रधानमन्त्रीको घोषणा लगत्ते पाकिस्तानी सेनाले पाइलट अभिनन्दनका छोरालाई सम्बोधन गर्दै एक पत्र लेखेको छ । यो पत्र अभिनन्दन, उनकी पत्नी र उनका छोराको पारिवारिक फोटोसहित ‘पाकिस्तानी आम्र्ड फोर्सेज’को फेसबुक पेजमा पोस्ट गरिएको छ ।

पत्रमा लेखिएको छ – ‘हाइ लिटिल बन्नी ! बधाइ छ । तिमी छिटै आफ्ना पितालाई अंकमाल गर्न गइरहेका छौ । हामी उनलाई तिमीकहाँ उपहारको रुपमा पठाउँदैछौं, यो कुराको पर्वाह नगरिकन कि उनी यहाँ तिमीजस्तै कैयौंमाथि बम बर्साउन आएका थिए । बनी सुन । तिमीलाई मेरो एउटा अनुरोध छ । जब उनी भावुक भएर तिमीलाई अंकमाल गर्नेछन्, कृपया मेरो तर्फबाट उनीसँग केही प्रश्नहरु सोधिदिनू । उनीसँग सोध्नू – ड्याड, के मजस्तै कश्मिरी बालबालिकाहरुसँग आफ्ना पिताको साथमा खुसीसाथ बाँच्ने अधिकार छैन ? उनीसँग सोध्नू – यदि उनीहरुले तपाइँलाई हिंस्रक भीडको बीचमा छोडिदिएको भए ? उनीसँग सोध्नू – युद्ध र घृणाको मूल्य के हुन्छ ? उनीसँग सोध्नू – के शक्तिशाली हुन्छ ? घृणा कि माया ? उनीसँग सोध्नू – जीवन र मृत्युमा के सुन्दर हुन्छ ? म यी प्रश्नहरुको जवाफको प्रतिक्षामा हुनेछु । खुसी रहनु लिटिल बन्नी । म चाहन्छु एक दिन तिमी आफ्ना पितमसँग हामीकहाँ आउ । हातमा बम र मिसाइल होइन फूल लिएर आउ । अनि अझै एउटा कुरा – म बाचा गर्छु कि हामी कसैलाई पनि तिम्रो मुस्कान खोस्न दिने छैनौं र विनाशको लागि हाम्रो जमिन प्रयोग हुन दिने छैनौं । आफ्ना पितासँग खुसी रहनू ।

मानवता प्रेमी ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *