Loading...

राष्ट्रपतिले बाँडेको ‘एउटै पदकको एक लाख ७५ हजार, सूर्य भएको भन्दै कांग्रेसको विरोध

180

जेठ २३ – राष्ट्रपति विद्यादेवी भण्डारीले गत बिहीबार शितलनिवासमा दुई संविधानसभाका सदस्यलाई पदक र प्रमाणपत्र बाँडिन्।

२०६४ र २०७० सालमा भएको संविधानसभाका सभासद्लाई बाँडिएको पदक अहिले विवादमा परेको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान जारी गरेकोमा स्याबासी दिन पदक दिने काम नै गलत भएको बताएको छ।

यतिमात्र होइन कांग्रेसभित्र पदक लिएकोले फिर्ता गर्नु पर्ने पनि आवाज उठेको छ।

कांग्रेस सांसद मीनेन्द्र रिजालले मंगलबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै संविधान निर्माता (सभासद) लाई चिनारी (पदक) वितरण गर्ने शैलीमाथि पनि प्रश्न उठाए।

‘संविधान निर्मातालाई चिनारी पदक वितरण गर्ने सुशोभनको शैली स्याबासी दिनेजस्तो भयो। चित्त बुझेन। अझ पदकमा संविधानलाई आड दिने गरी कुदिँएका रेखाहरूको कलात्मक प्रस्तुतिले संविधान निर्माण र स्वामित्वबारे अन्यथा सन्देश दियो भन्ने आमचर्चा छ,’ रिजालले भने, ‘सुशोभनको शैली र पदकको डिजाइनले संविधान निर्माणका लागि भएको बलिदानीपूर्ण संघर्ष संविधानको मर्मभावना र उत्तराधिकारलाई परिलक्षित गर्न सकेन भन्ने जनगुनासो छ। सम्बन्धित सबैको ध्यान आकृष्ट गर्न चाहन्छु।’

सांसद रिजाल पनि पदक पाउने सूचीमा छन्। तर उनले पदक लिएका छैनन्।

किन?

‘संविधान बनाएकोमा स्याबासी लिने गरी पदक बाँड्न हुँदैनथ्यो,’ रिजालले थपे, ‘पदकको डिजाइन पनि मन परेन। त्यहाँ सूर्य चिन्ह छ।’

रिजालले पदक बनाउन झन्डै दुई लाख खर्च भएको दाबी गरे।

‘एउटै पदक बनाउन एक लाख ७५ हजार खर्च भएको मैले सुनेको छु ,’ उनले भने, ‘राज्यकोषको रकम यति धेरै खर्च हुने गरी किन पदक बाँड्नुपर्ने?’

नेपाली जनताले निर्वाचित गरेर आफ्नो प्रतिनिधिलाई संविधान लेख्न पठाए पनि के-के न गरेझैं गरी पदक लिन नहुने उनको भनाइ छ।

‘जनता र सांसदको सम्बन्ध राजा र आम नागरिकजस्तो होइन फरक छ,’ उनले भने, ‘संविधानकै मर्मविपरीत पदक लिने/दिने काम भयो।’

उनले पदकभित्र सूर्य चिन्ह राखिएकोमा कांग्रेसले आपत्ति जनाएको पनि बताए।

‘पदकभित्र प्रष्ट देखिने गरी सूर्यको चिन्ह राखिएको छ। एउटा पार्टीले संविधानलाई मोनोपोलाइज गर्न पाइन्छ?,’ उनले भने, ‘आफूले मात्रै संविधान ल्याएको जस्तो गर्ने? मैले सभापति शेरबहादुर देउवालाई यसबारे आज जानकारी गराइसकेको छु। पार्टीले पदकबारे छलफल गरी निर्णय लिनुपर्छ। कसैले लिएका छन् भने फिर्ता गर्नुपर्छ।’

उनले राजनीतिज्ञलाई  गर्नु पर्ने काम गरेवापत् स्याबासी दिनु सामन्ती संस्कार भएको बताए।

‘राजनीति गर्ने मान्छे, संविधान बनाउनेलाई पदक दिने नै होइन। यो त सामान्ति प्रवृत्तिको अवशेष हो। हिजो पिएचडी गर्दा पदक दिइन्थ्यो नि राजाले स्यावास भन्थें। अनि के हामीलाई संविधान बनाएकोमा स्यावास भन्या,’  उनले भने।

कांग्रेसले पदक लिन नमिल्ने उनको भनाइ छ।

‘बीपीले जीवनकालभर पदक लिनुभएन। गिरिजाबाबुले पनि जिउँदो छँदा पदक लिनुभएन। हामी बीपीका चेला भएर पदक लिँदै हिड्ने?,’ उनले भने, ‘पदक लिनु गणतन्त्रको स्प्रिट अनुसार भएन। जुन शैलीमा राष्ट्रपतिज्यूले वितरण गर्नुभयो त्यो पनि चित्त बुझेन।’

कांग्रेस सांसद गगन थापाले पनि पदक लिएका छैनन्।

‘हामी त जनप्रतिनिधि हो, मानसम्मान खोज्ने होइन,’ उनले भने, ‘यो राष्ट्रिय ठाँट भयो। त्यो पदक लगाएर हामी भोज खान हिँड्ने हो कि? हाम्रो माइन्डसेट नै गणतन्त्रतात्मक भएन। संविधान बनाएर आएपछि जनताले यसै पनि मान्नुहुन्छ नि। संविधानसभा सदस्यको रुपमा संविधानसभाले हामीलाई लोगो दिइहाल्यो सकियो त।’

के सोचेर पदक बाँड्ने कार्यक्रम बनाइएको हो भन्ने नै ओचित्पपूर्ण नभएकोले पदक नलिएको उनले बताए।

पदकको डिजाइन बनाएको गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखाका सहसचिव महादेव पन्थले पदकमा कहीँ पनि सूर्य नराखिएको बताए।

‘सबैभन्दा बाहिरी घेरामा ७७ वटा तारा छ। यसले ७७ जिल्ला बुझाउँछ। त्यसभित्र लालिगुँरास छ। सात वटा लालिगुँरासले सात प्रदेशको अर्थ दिन्छ,’ उनले सेतोपाटीसँग भने, ‘बीचमा धर्का भएको स्थानीय तह हो। यसले ७५३ स्थानीय तह बुझाउँछ।’

उनले सूर्यजस्तो देखिएको त्यो धर्काहरु सूर्य नभएको बताए। ‘स्थानीय तह बुझाउने धर्कालाई सुनौलो बनाइएको छ यसको अर्थ स्थानीय तहको भविष्य उज्वल छ भनेको हो। यो सूर्य होइन,’ उनले भने।

 

साथै सभासद्लाई दिएको पदकमा दुइटा हात पनि छ। यसले महिला र पुरूष जनाउँछ भने संविधान समावेशी छ भन्ने अर्थ लगाउने उनले बताए।

पदकको मूल्य चर्को रहेछ नि! भन्ने प्रश्नमा सहसचिव पन्थले नेपाली सेनाले विना ज्याला तयार गरेको पनि बताए।

‘यो पदक नेपाली सेनाले बनाएको हो। ज्याला लिँदैन। राष्ट्र बैंकबाट सुनचाँदी किन्दा पैसा लाग्यो होला। नेपाली सेना सुन्दरीजल आर्सनलले किनेको हो,’ उनले भने, ‘अर्थले बजेट दिएको हो। अनियमित भन्ने हुँदैन। पछि महालेखाले प्रश्न उठाउँछ।’

गृह मन्त्रालयका अनुसार पदक वितरणका दिन राष्ट्रपतिको हातबाट एक सय १४ जनाले पदक लिएका थिए।

मृत्यु भइसकेका सभासद्को पदक भने गृह मन्त्रालयले परिवारजनलाई बुझाउँछ। एक हजार एक सय ९ जनामध्ये ९० जना सभासद्को नाम दोहोरिएको पाइएको थियो। राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, पूर्वराष्ट्रपति रामवरण यादवको नाम पनि पदक पाउने सूचीमा छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *